बैशाख १७ र २७ को चुनावमा ८ अर्ब खर्च हुने

मकवानपुर । आगामी बैशाख १७ र २७ गते दुई चरणमा हुने भनिएको चुनावमा करीब ८ अर्ब खर्च हुने निर्वाचन आयोगले अनुमान गरेको छ । आयोगले हिजो आइतबार अर्थ मन्त्रालयमा चुनाव खर्चबारे गरेको छलफलमा सो निष्कर्ष सहितको अनुमानित खर्च विवरण सार्वजनिक गरेको हो ।
यसपटक कोरोना संक्रमणलाई समेत ध्यान दिएर चुनाव गराउनु पर्ने भएकाले अघिल्ला चुनावभन्दा खर्चिलो हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
संसद् विघटनको घटनापछि सरकारको सिफारिसमा दुर्ई चरणमा गर्ने गरी तोकिएको निर्वाचनको तयारी गर्न आयोगले निर्वाचन कार्यायोजना समेत तयार गरिरहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७ अर्ब ७५ करोड ९५ लाख ४१ हजार खर्च लागेको थियो भने, सो निर्वाचनमा सुरक्षा निकाय, पर्यवेक्षकलगायतमा तीनै तहको निर्वाचनमा गरी ३० अर्बभन्दा बढी खर्च भएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।