राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले संसद् विघटनबारे जवाफ पेस गर्दै

काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले आज प्रतिनिधिसभा विघटनबारे जवाफ पेस गर्ने भएका छन् । सर्वोच्च अदालको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेपछि राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले पेश गर्ने भएका हुन् ।
पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सोविरुद्ध दायर रिटमा संवैधानिक इजलासले सो आदेश दिएको थियो ।
जसअनुसार पुस १९ अर्थात् आजसम्ममा महान्यायाधिवक्ता कार्यालयमार्फत संसद् विघटनका सम्बन्धमा लिखित जवाफ पेस गर्न भनेको थियो ।
संवैधानिक इजलासले लिखित जवाफ आइसकेपछि पुस २२ गतेबाट प्रतिनिधिसभा विघटनविरुद्ध दायर करिब डेढ दर्जन मुद्दामा नियमित सुनुवाइ गर्ने गरि पेसी तोकिसकेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुनेछ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी वैशाख ७ र १७ गते दुई चणमा निर्वाचन गरेकी छन् । स्रोतका अनुसार प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयले संसद् विघटनको पक्षमा जवाफ पठाउने तयारी गरेका छन् । तर, सभामुख अग्नि सापकोटा भने संसद् विघटनको विपक्षमा छन् ।