मन्त्रिपरिषदमा एजेन्डा जानकारी नगराई अध्यादेश पारित, मन्त्रीहरू आश्चर्यचकित

प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूलाई कुनै जानकारी नै नदिई मन्त्रिपरिषद् बैठकबाट संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा सिफारिसका लागि पठाउने निर्णय गराएका छन् ।
मंगलबार बिहान १० बजे बालुवाटारमा बोलाइएको बैठकमा प्रधानमन्त्री ओलीले नियमित एजेन्डा मात्रै रहेको मन्त्रीहरूलाई जानकारी गराएका थिए । करिब ४५ मिनेट बसेको बैठकले अध्यादेश पारित गरेको र राष्ट्रपति कार्यालयबाट जारी भएको सूचना बैठकमा सहभागी भएका मन्त्रीहरूले साढे १ बजेपछि मात्र पाएका थिए ।
‘अध्यादेशको एजेन्डा नै जानकारी गराइएको थिएन, भएको थाहा पाए त चासो राखिन्थ्यो, विरोध पनि गरिन्थ्यो होला । एकदमै सामान्य सेनाको बढुवा, पदस्थापनलगायतका मात्र थिए,’ एक मन्त्रीले भने, ‘तर, हामीले पनि साढे १ बजेपछि राष्ट्रपति कार्यालयबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएको भन्ने सूचना पाएपछि आश्चर्यचकित भयौँ ।’
मन्त्रिपरिषद् बैठक नियमित हिसाबले सोमबार र बिहीबार बस्ने प्रचलन रहे पनि प्रधानमन्त्री ओलीले अध्यादेश जारी गर्ने उद्देश्यकै लागि मंगलबार आकस्मिक बैठक बोलाएका थिए । बैठकबारे मन्त्रीहरूलाई बिहान मात्रै सूचित गरिएको थियो ।
नयाँ पत्रिकामा समाचार छ ।