सरकारको कारणले गणतन्त्रप्रति जनताको विस्तृष्णा बढ्योः देउवा

मकवानपुर । नेपाली काँग्रेसले आज हेटौंडामा सरकारको विरुद्धमा विरोध प्रर्दशन गरेको छ । नेपाली काँग्रेस मकवानपुरले आज हेटौंडाको चारैदिशाबाट सरकारको विरोधमा र्यालीसहित प्रदर्शन गरेको हो ।
पूर्वप्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्टले एकदलीय शासन व्यवस्था चलाएको आरोप लगाएका छन् । सभापति देउवाले सरकारले सर्वसत्तावाद लाद्न खोजेको बताएका हुन् ।
सभापति देउवाले कोरोना महामारीमा सरकारले कुनै काम गर्न नसकेको, भ्रष्टाचार रोक्न नसकेकाले नै गणतन्त्रप्रति जनताको विस्तृष्णा बढेको बताए । उनले जनता काँग्रेससँग भएको बताउँदै कम्युनिष्ट सरकारले जनताको हक अधिकार माथि प्रतिन्वध गर्न खोजेको बताए ।
विरोध कार्यक्रममा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसले हरेक संकटमा देशको नेतृत्व गरेको भन्दै यसपटकको संकटमा पनि काँग्रेसले नै नेतृत्व लिने बताएका छन् । उनले कांग्रेसकै युवाहरुले उड्दै गरेको विमान अपहरण गरेको घटना बताउँदै काँग्रेसलाई नजिस्काउन वर्तमान सरकार र नेतृत्वलाई चेतावनी समेत दिएका छन् ।
कार्यक्रमलाई पार्टीका मकवानपुर सभापति तथा प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले बर्तमान सरकार दुईतिहाईको भएपनि जनताको काम भन्दा आफ्नै स्वार्थमा लागेको आरोप लगाएका छन् ।
विरोध कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका पार्टी समर्थक तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।