कांग्रेस मकवानपुरले सरकारविरुद्ध प्रदर्शन गर्ने

मकवानपुर। नेपाली कांग्रेस मकवानपुरले सरकारविरुद्ध हेटौंडामा प्रदर्शन गर्ने भएको छ । कांग्रेस मकवानपुरको सोमबार बसेको बैठकले मंसिर २९ गते हेटौंडामा सरकारविरुद्ध प्रर्दशन गर्ने भएको हो ।
सरकारको सर्वसत्तावादी प्रवृत्ति, तनहुँमा मंसिर १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी दुव्र्यवहार, स्वास्थ्य सामग्री खरिद लगायतका भ्रष्ट्राचारको विरोधमा कांग्रेस मकवानपुरले प्रर्दशन गर्ने भएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय महालक्ष्मी उपाध्याय डिना र गुरुराज घिमिरेको उपस्थितिमा भएको बैठकले केन्द्रीय निर्देशन अनुसार सरकारको जनविरोधी गतिविधिको विरोधमा प्रर्दशन गर्ने निर्णय गरेको हो ।
कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको बैठकले मकवानपुरका सबै क्षेत्रबाट नेता कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकहरुलाई प्रर्दशनमा उपस्थित गराउने निर्णय गरेको छ ।
मंसिर २९ गते कांग्रेस मकवानपुरले हेटौंडाको चारै दिशाबाट प्रदर्शन गर्ने भएको हो । पूर्वी क्षेत्रको प्रर्दशन सानोपोखरा चोक, पश्चिमी क्षेत्रको प्रर्दशन जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडि, उत्तरी क्षेत्रको प्रर्दशन चौकीटोल र दक्षिणतर्फको प्रर्दशन फरेष्ट्रीबाट शुरु हुने जनाएको छ ।
चारैतिरबाट एकै पटक शुरु हुने र्यालीसहितको प्रदर्शन हेटौंडाको बुद्धचोक र सिमाचोकको बिचमा सभामा परिणत हुनेछ ।
बैठकमा जिल्ला पदाधिकारी, विभाग प्रमुख, क्षेत्रीय सभापति, भातृ तथा शुभेच्छुक संगठनका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।