नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । दुई अध्यक्षले थप गृहकार्य गर्नुपर्ने भएको भन्दै आज सोमबार दिउँसो बस्ने तय भएको बैठक स्थगित भएको हो ।
अर्को बैठक मंगलबार साढे १२ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।
आज नै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल हुने भएको छ ।
आइतबार कोटेश्वर पेरिसडाँडास्थित नेकपाको जनवर्गिय संगठनको कार्यालयमा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो ।
सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने नीतिगत सहमति भएको जनाइएको छ । बैठकमा मन्त्रिपरिषद् कसरी पुनर्गठन गर्ने भन्ने विषयमा विभिन्न विकल्पमा छलफल भएको थियो ।
मंगलबार बस्ने बैठकमा संवैधानिक राजनीतिक नियुक्तिहरूबारे सरकारबाट निर्णय गर्नका लागि आधार तयार गर्ने, सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने, पार्टी संगठन विभागको निर्णयमा छलफल र अनुमोदनको प्रस्ताव, स्थायी र केन्द्रीय कमिटीको रिक्त रहेको सदस्यहरूको पदपूर्ति र कारबाहीमा परेका नेताहरूको कारबाही फुकुवा, केद्रीय कमिटी सदस्यहरूलाई नियमित रूपमा आर्थिक सहयोग गर्नेलगायतका एजेन्डा तय भएका छन् ।