नेकपाको स्थायी कमिटी बैठक सकियो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ। गत असार १० देखि जारी रहेको स्थायी कमिटी बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा पेश गरिएको प्रस्ताव पारित गर्दै सकिएको हो ।
शुक्रबार बालुवाटारमा बसको बैठकले अध्यक्षद्वय ओली र दाहलले प्रस्तुत गरेको प्रस्ताव पारित गरेर अन्त्य भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठकमा यसअघि प्रस्तुत भएका कार्यसूची सम्बोधन गर्ने गरी २ अध्यक्षले प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव सबै सदस्यलाई वितरण गरिएको थियो ।
अध्यक्षद्वयले प्रस्तुत गरेको प्रस्तावमाथि माधव नेपाल, झलनाथ खनाल, रघु पन्त, लिलामणि पोखरेल, भीम रावल लगायतका १३ जनाले धारणा राखेका थिए।
सदस्यहरुले उठाएका सुझावलाई पनि समेट्ने गरी प्रस्तुत प्रस्तावहरुलाई पारित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
बैठकले गरेका निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको महत्व आत्मसात् गर्दै पार्टीलाई सुदृढ बनाउने संकल्प गरेको जानकारी दिए।
पार्टीलाई विधि र पद्धतिमा संस्थागत ढंगले चलाउने, कमीकमजोरी सच्याएर अगाडि बढ्ने, यसअघि भएका निर्णय कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको छ।
अध्यक्ष केपी ओली सरकार सञ्चालनमा केन्द्रित हुने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी कामको नेतृत्व गर्ने सहमति भएको छ।
सरकार पार्टीको मार्गनिर्देशनमा सञ्चालन हुने तर दैनिक काममा हस्तक्षेप नगर्ने सहमति पनि भएको छ। तर राष्ट्रिय महत्वका विषयमा निर्णय गर्दा भने पार्टीको निर्देशन केन्द्रमा राख्ने निर्णय भएको छ ।
शुक्रबारको बैठकको प्रारम्भमै प्रधानमन्त्री केपी ओली सम्बोधन गरेका थिए। उनले प्रतिक्रियावादीले पार्टी विभाजनका लागि तयारी गरेको भए पनि बैठकले एकतावद्ध भएर जवाफ दिएको धारणा राखेका थिए।