प्राधिकरणमा कुलमानलाई नै दोहोर्याउने तयारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै दोहोर्याउने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्ति दिनको लागि प्रस्ताव लेखनको काम भइरहेको र सम्भवतः शुक्रबार साँझ प्रस्ताव टुङ्गो लाग्ने मन्त्रालयको स्रोतले जनाएको छ ।
भदौ २९ गते कार्यकाल सकिन लागेका घिसिङलाई पुनः नियुक्तिको तयारी भइरहेको जनाइएको छ । मन्त्रालयका अनुसार घिसिङको अबको कार्यकाल कति अवधिको हुने भन्ने. बारे ठोस निर्णय हुन बाँकी रहेको छ ।
चर्को जन दबाबपछि प्रधानमन्त्री ओली कुलमानलाई नै कार्यकारी निर्देशकमा दोहो¥याउन तयार भएका हुन् । तर चार वर्षे कार्यकाल नै दिन भने असहमत भएको स्रोतले जनाएको छ ।
‘कुलमानलाई दोहोर्याउन दुई अध्यक्षबीच सहमति भइसकेको छ तर अवधि टुङ्गो नलाग्दा प्रस्ताव फाइनल नभएको मन्त्रालय स्रोतले जनाएको छ ।
विसं २०७३ सालको भदौ २९ गते प्राधिकरणको नेतृत्व सम्हालेका घिसिङले देशलाई लोडसेडिङमुक्त बनाउनेदेखि रुग्ण आयोजना पूरा गरेको र चरम घाटामा रहेको प्राधिकरणलाई वार्षिक ११ अर्ब रुपैयाँसम्म नाफामा लगेको भन्दै पुनः नियुक्ति दिन सर्वसाधारणले माग गरिरहेका छन् ।