बामदेव गौतमलाई राष्ट्रिय सभामा नलैजान विवेकशील दलको माग

काठमाडौं । विवेकशील नेपाली दलले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा नलैजान सरकारलाई आग्रह गरेको छ । पछिल्लो समय राष्ट्रियसभामा प्रत्यक्ष निवार्चन हारेका व्यक्तिहरुको व्यवस्थापनको थलो बनाउन लागिएको भन्दै दलले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय नगर्न सरकारलाई आग्रह गरेको छ ।
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय १८ भदौमा बसेको नेकपा सचिवालय बैठकले गरेको थियो ।
सदस्यसमेत रहेका विवेकशील नेपाली दलका नेता रमेश पौडेलले दलका तर्फबाट बागमती प्रदेश सभा सदस्यले जारी गरेको विज्ञप्तिमा राष्ट्रियसभामा आफूले सिफारिस गर्ने संवैधानिक व्यवस्थाको मर्म र भावनाबारे गम्भीर ढंगले विचार गर्न राष्ट्रपतिलाई पनि आग्रह गरिएको छ ।
विज्ञप्तिमा चुनाव हारेका गौतमलाई सांसद बनाउने निर्णय गर्नु र स्वयं गौतमले मन्त्री बन्ने उद्देश्य रहेको बताउनुले कानुनी राज्यको खिल्ली उडाएको उल्लेख गरिएको छ ।
साथै राष्ट्रियसभामा गौतमको आवश्यकताबारे नेकपासँग जवाफ मागिएको छ । विवेकशीलले भनेको छ, ‘अहिले राष्ट्रिय सभामा वामदेव गौतमको आवश्यकता किन परेको हो ? के कारणले त्यहाँ वामदेवको अभाव खड्कियो ? उनले दुई वर्ष कुरेर आउँदो निर्वाचनको प्रतीक्षा गर्न किन नसकेका ? नेपाली नागरिकहरूलाई यसको स्पष्ट जवाफ नेकपाको सचिवालयले दिनु जरुरी छ ।’