सरकार फेरि लकडाउनको तयारीमा

काठमाडौं । सरकारले फेरि देशभर लकडाउन गर्ने तयारी थालेको छ । पछिल्लो समय देशमा कोरोना संक्रमितको संख्या झनै बढेको भन्दै सरकारले देशभर लकडाउन गर्नका लागि विज्ञहरुसँग परामर्श थालिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिमको अवस्था र अपनाउनुपर्ने उपायबारे विज्ञहरुसँग परामर्श गर्दैछन् । विज्ञहरुले यसलाई सरकारको फेरि लकडाउनको तयारीका रुपमा लिइएका छन् ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आवश्यक परे फेरि लकडाउन घोषणा हुनसक्ने अभिव्यक्ति समेत दिएका छन् । उनले कोरोना जोखिम बढ्दै गएको भन्दै शतर्क रहन भनेका छन् ।
साउन ७ गतेबाट देशमा लकडाउन अन्तको घोषणा भएपनि त्यसको दुई हप्ता नबित्दै सरकार फेरि लकडाउनको तयारीमा लागेको छ ।
सरकारले छिट्टै सवारीमा जोर बिजोर प्रणाली लागू गर्दैछ । यसका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगिने तयारी थालिएको स्रोतले जनाएको छ ।
समुदाय सतरमा नै कोरोना फैलिएपछि सरकार गम्भीर भएको हो । समुदायमा नै कोरोना देखिए पछि देशका मुख्य शहरहरुमा आइशोलेशन र भ्यान्टिलेटरको अभाव देखिन थालेको छ । अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले तत्काल स्थिति अनियन्त्रित हुन नदिन कम्तिमा दुई हप्ता लकडाउन गर्ने सुझाव अगाडि बढाएको स्रोतले जानकारी दिएको छ ।
हाल नेपालमा कोरोना संक्रमित संख्या २० हजार नाधेको छ भने मृतक संख्या ५७ पुगेको छ ।
पछिल्लो समय समुदायमै संक्रमण फैलिएकाले अवस्थालाई मध्येनजर गर्दै बारा, पर्सालगायतका क्षेत्रमा निषेधाज्ञा नै जारी गरिएको छ । विराटनगरमा पनि लकडाउन जारी छ । कतिपय शहरहरुमा लकडाउन र निषेधाज्ञा जारी गरिएको छ ।