भारतीयलाई मात्र लागू हुने गरी सदनले ऐन बनाएको हैन (भिडियो)

हेटौडा न्युज
९ असार २०७७, मंगलवार १७:३६
;

काठमाडौं । राष्ट्रिय सभा सदस्य सांसद रामनारायण बिडारीले भारतीय नागरिकलाई मात्र लागू हुने गरी सदनले ऐन नबनाएको बताएका छन् । बिडारीले नागरिकतासम्बन्धी ऐन भारतीय नागरिकका लागि मात्र नआएको प्रष्ट पारेका हुन् ।

मंगलबार राष्ट्रियसभामा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अङ्गीकृत नागरिकता विषयमा गरेको निर्णयको विषयमा भएको छलफलमा सहभागी हुँदै बिडारीले यस्तो बताएका हुन्।

छलफलमा बोल्दै सांसद बिडारीले भने ‘भारतीय नागरिकलाई मात्र लागू हुने गरी सदनले ऐन बनाएको हो ? यस्तो होइन । संसारभरबाट नेपालका ठिटाहरुले विदेशका ठिटीहरु विवाह गर्न सक्छन् ।

त्यो छुट छ । कसैलाई रोकटोक छैन । त्यसैले भारतीय नागरिकलाई मात्र लागू हुने कुरा होइन’, उनले भने, ‘संसारमा सार्वभौम राष्ट्रले नागरिकता सम्बन्धी आफ्नै खालको नीति ल्याउँछ ।’

‘कुनै पनि नेपाली नागरिकलाई विदेशीसँग विवाह गर्न रोकेको छ ? छ भने भन्नु पर्यो। विदेशीसँग बिहे गर्न पाइन्छ। मजाले गर्नू। के को भारतसँग नि क्यानडा गएर नि गर्नू त्यो पनि नेपालले दिन्छ। अमेरिका गएर गर्नू, त्यो पनि दिन्छ ।’

बिडारीले संसदमा बोल्दै भने, ‘अब हामी धेरै सरिताहरु चाँडै अङ्गीकृत बनाएर देशमा मन्त्री बनाउने, सांसद बनाउने मेलोमा छैनौँ। यत्ति कुरा ठुक्क सँग जान्नु है। त्यसैले सीमा नियमित गर्छौँ। दुई देश अलगअलग हो।

दुई देशको मित्रतालाई सुदृढ गर्छौँ। तर खुला सीमाना राख्न दिदैनौँ। अन्तर्राष्ट्रिय मान्यता अनुसार गर्छौँ।’

उनले अब स्वाभिमानी नेपाल बन्ने भन्दै नेपाल चीन, भारत र अमेरिकी मोडलमा नभएर नेपाली मोडल अनुसार अगाडि बढ्ने बताए। उनले नेपालको राष्ट्रियतालाई कोही कसैले पनि कमजोर बनाउन नसक्ने जनाउँदै एकापसमा मिलेर बसेको र एकार्कालाई सम्मान गरेको नेपाली समाजबारे गलत मनसायका साथ प्रचार नगर्न सम्बद्ध पक्षको ध्यानकर्षण गराए।

सार्वभौमसत्तासम्पन्न मुलुकले आआफ्नै तरिकाले नागरिकता दिने प्रचलन रहेको उल्लेख गर्दै उनले नेपालले आफ्नै सापेक्षतामा निर्णय गर्न नपाउने भने जसरी संसद्मा अभिव्यक्ति दिनु सुहाउँदो विषय नभएको बताए।

उनले प्रतिनिधिसभाको एउटा समितिमा विचाराधिन भएको विषयलाई लिएर राष्ट्रियसभामा कुरा उठ्नु ठिक नभएको बताए।

बिडारीले आज नागरिकता लिएर भोलि नै मन्त्री सांसद बनाउने र बन्न पाउनुपर्छ भन्ने कुरा कुनै पनि अर्थमा नमिल्ने बताए।

‘सीमा रक्षा गरिरहेका नेपाली नागरिकलाई सरकारले रक्षा गर्छ, उनीहरुलाई नागरिकता दिइन्छ। तराईका मुसहर, डोम, चमार जस्ता पछाडि पारिएका नागरिकलाई अधिकारसम्पन्न गराइन्छ तर आज नागरिकता लियो, भोलि नै मन्त्री सांसद बनाउने र बन्न पाउनुपर्छ भन्ने कुरा कुनै पनि अर्थमा मिल्दैन, हुँदैन’, उनले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*