विद्यालयलाई शुल्क नलिन शिक्षा मन्त्रालयको आग्रह

मकवानपुर । विद्यालय बन्द रहेको बेलाको शुल्क नलिन निजी विद्यालय सञ्चालकहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ। प्याब्सन र नेशनल प्याब्सनले संयुक्त रूपमा शुल्क तिर्न अभिभावकलाई गरेको अपिल माथि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै शुल्क नलिन आग्रह गरेको हो ।
गत आइतबार प्याब्सन र नेशनल प्याब्सनले संयुक्त रूपमा अपिल जारी गर्दै शुल्क तिर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेका थिए।
लकडाउनको अवधिमा पनि वैकल्पिक व्यवस्थामार्फत् पठनपाठन गरिएको दाबी गर्दै निजी विद्यालय सञ्चालकहरूले शुल्क तिरिदिन अपिल गरेका थिए।
शिक्षा मन्त्रालयले अहिले स्कुल, कलेज, ट्युसन सेन्टरलगायत खोल्ने कुनै निर्णय नभएकोले शुल्क नलिन आग्रह गरेको छ।
गत चैत ११ गतेदेखि लकडाउन भएको थियो। त्यसको एक साताअघिदेखि नै विद्यालयहरू बन्द छन्।