लकडाउनमा विरोध प्रदर्शन गर्नेलाई पक्राउ गरिने
काठमाडौं । गृह मन्त्रालयले लकडाउनमा सरकारको विरोध गर्नेलाई पक्राउ गरि कार्वाही गर्ने भएको छ । आज मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लकडाउनकै बीचमा सामाजिक सञ्जालबाट सर्वसाधारणलाई जम्मा हुन आह्वान गर्ने र जुलुस तथा विरोध प्रदर्शन गर्नेलाई पक्राउ गरि कार्वाही गर्ने जनाएको हो ।
भिड जम्मा गरि विरोध तथा जुलुस प्रदर्शन लगायतका कामबाट बन्दाबन्दीको आदेशको अवहेलना भएको भन्दै गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा बन्दाबन्दीको आदेशको अवहेलना गर्ने वा काममा वाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजाय अन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रु १०० देखि रु ६०० सम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राख्नेगरी कार्वाही गर्न सक्ने चेतावनी समेत दिइएको छ ।