पराल र गुट्खामा अत्यावश्यक सामग्री कुन हो एसपी साब ? 

हेटौडा न्युज
११ जेष्ठ २०७७, आईतवार १९:४०
;

मकवानपुर प्रहरीले बरामद गरेको गुट्खा राजश्व तिरेको भन्दै त्यतिकै छाडेको छ । “औषधि ढुवानी” लेखेको मालबाहक कन्टेनरबाट बरामद गरेको करीब १८ लाख बराबरको सुर्तीजन्य प्रहरीले मुचुल्का उठाएर पनि आवश्यक कार्वाही नगरी हिजो साँझ नै त्यसै छाडिदिएको छ ।

लकडाउनको अवधिमा अत्यावश्यक सामग्री बाहेक अन्य सामान बेचखिन, ओसारपसार गर्न गृह प्रशासनले निषेध गरेको छ । तर गाडिमा औषधि ढुवानी लेखेर प्रहरीलाई छक्याउँदै आएको गुट्खा, रजनीगन्धा ओसार पसार गर्ने ना ३ ख ४७८५ नम्वरको कन्टेनर ट्रकलाई मकवानपुरका प्रहरीले त्यतिकै छाडिदिएको छ ।

कानुनतः बरामदी मुचुल्का उठाईसकेपछि तेतिकै छाड्न नमिल्ने प्रावधान छ । इलाका प्रहरी कार्यालयले बरामदी मुचुल्कामा वडा नम्बर ९ का अध्यक्ष लक्ष्मण भण्डारी, उपभोक्ता हित संरक्षणका अजय अधिकारी, सामुदायिक प्रहरी केन्द्रका अध्यक्ष राम विष्ट सहित सरोकारवाला सबैलाई मुचुल्कामा हस्ताक्षर समेत गराएको थियो । 

अत्यावश्यक सामग्री ओसारपसार गर्ने बाहेक कुनै पनि सवारी साधन चल्न नदिन गृह मन्त्रालयले निर्देशन नै जारी गरेको वर्तमान अवस्थामा इलाका प्रहरी कार्यालय, हेटौंडा, पशुपतिनगरको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा  “औषधि ढुवानी” लेखेको ना ३ ख ४७८५ नम्बरको मालबाहक कन्टेनरबाट करीब ९ लाख रुपैया बराबरको ५० बोरा गुट्खा, करीब ९ लाख रुपैया बढीको १७ बोरा रजनी गन्धा गुट्खा बरामद गरेको थियो ।  

काठमाडौंबाट पशुपति ट्रान्सपोर्टले सिरहाको मिर्चैया, लहान, सप्तरीको राजबिराजका लागि पठाएको सो कन्टेनरबाट चकलेट, मोबाईल सहित इलेक्ट्रोनिक्स सामग्रीहरु समेत फेला पारेको थियो ।

लकडाउनको अवधिमा अत्यावश्यक सामग्रीबाहेक कुनै पनि सामग्री ओसार पसार गर्न पनि पाइदैन । तर राजश्व विलविजक ठिक रहेको भन्दै प्रहरीले बरामद गरेर पनि गुट्खा ढुवानी गरेको ट्रक हिजो साँझ नै छोडेको थियो ।

प्रहरीले आवश्यक चेकजाँच गर्दा औषधी ढुवानी लेखेको गाडिमा गुड्खा भेटिएपछि गुट्खा सहितको गाडि नियन्त्रणमा लिई पत्रकारका माझ उक्त घटना सार्वजनिक गरेको थियो ।

यस विषयमा मकवानपुरका एसपी सुशील सिंह राठौरले आन्तरीक राजस्व कार्यालय, हेटौंडाले विलविजक ठिक रहेको बताएपछि गाडि छोडेको दाबी गरेका छन् । तर आन्तरीक राजस्व कार्यालय, मकवानपुरका प्रमुख कर अधिकृत सन्त ढकालले आफूहरुले विलविजक ठिक रहेको बताएपनि अहिलेको अवस्थामा गाडि छोड्न आदेश नगरेको र प्रहरीलाई आफूले आदेश दिन नमिल्ने बताएका छन् ।

ढकालले घटना बारे प्रहरीले जानकारी गराएपछि आफु इलाका प्रहरी कार्यालय पशुपतिनगर पुगेर आवश्यक चेकजाँच गरेको स्वीकार गरेका छन् । उनका अनुसार गृह मन्त्रालयको अन्य निर्देशन पालना गराउने काम प्रहरीको हो ।

केहीदिन अघि मकवानपुर प्रहरीले तराईबाट पशुका लागि ल्याईएको पराल अत्यावश्यक भित्र नपर्ने भन्दै फिर्ता गर्दा यस विषयले जिल्लामा ठूलो चर्चा चलेको थियो भने, हिजो प्रहरीले छाडेको सुर्तीजन्यवस्तु चाही कसरी अत्यावश्यक भित्र पर्यो भन्ने मकवानपुर प्रहरीम माथि नै प्रश्न उठेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*