नेकपामा चार सदस्यीय दबाब समुह गठन

स्थायी कमिटी बैठकका लागि एजेण्डा तय गर्न बसेको सचिवालय बैठक निष्कर्ष विहिन बने पछि नेकपाको एक समुहका स्थायी कमिटिको सदस्यहरुले दबाब समुह गठन गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक समुहका स्थायी कमिटीको आज बसेको अनौपचारिक बैठकले ‘दबाब समुह’ गठन गरेको हो।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले चार सदस्यीय दबाब समुह गठन गरेको बैठकमा सहभागि एक सदस्यले बताए ।
दबाब समुहमा स्थायी कमिटीका सदस्यहरु भीम रावल, देव गुरुङ्ग, जनार्दन शर्मा, रघुजी पन्त सदस्य रहेका छन् । स्थायी कमिटी बैठकका लागि एजेण्डा तय गर्न हिजो बसेको बैठक बिना निष्कर्ष सकिए पछि स्थायी कमिटीको बैठक समेत अनिश्चित भएको छ ।
यो समुहले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई औपचारिक बैठक बोलाउँन दबाब दिने बताईएको छ । दबाब समुहमा रहेका नेताले अध्यक्षद्धयलाई भेटेर बैठक बोलाउँने बिषयमा छलफलका साथै दबाब सृजना गर्ने छ ।
प्रधानमन्त्री समेत रहेका ओली र अध्यक्ष दाहालले हिजो साझ छलफल गर्दै पुर्व निर्धारित आजको स्थायी कमिटी बैठक स्थगित गर्ने निर्देशन दिएका थिए । तर उनीहरुको निर्देशन विपरित १८ स्थायी कमिटी सदस्यहरुले अनौपचारिक बैठक गर्दै तत्काल बैठक बोलाउँनुपर्ने निर्णय गरेको छ ।
२० स्थायी कमिटी सदस्यहरुले यस अघि नै स्थायी कमिटी बैठक माग गर्दै अध्यक्षद्धय ओली र दाहाललाई लिखित रुपमै पत्र पठाएका थिए । त्यसपछि २० बैशाखको सचिवालय बैठकले स्थायी कमिटी बैठक आजको लागि तोकेको थियो । तर बैठक बस्नुभन्दा एक दिन अघि स्थागित गर्ने निर्णय गरेपछि कमिटीका सदस्यहरु आक्रोशित छन् ।
स्थायी कमिटीको अनौपचारिक बैठकमा सहभागि सदस्य गणेश साहले पार्टीको बिधान कार्यान्वयन गर्ने बिषयमा छलफल भएको बताए ।
नेकपा स्थायी कमिटी ४५ सदस्यी रहेको छ । २० स्थायी कमिटी सदस्यले यस लिखित रुपमै बैठकको माग गरेका थिए ।