नेकपा भित्र बढ्दै छ गुटको राजनीति, धुम्बाराहीमै २० जना स्थायी कमिटी सदस्यको बैठक

हेटौडा न्युज
२५ बैशाख २०७७, बिहीबार २३:१७
;

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटिको बैठक तत्कालका लागि स्थगित भएको छ । बुधबार बसेको नेकपाको सचिवालय बैठकमा दुई अध्यक्षबीच कुरा नमिलेपछि सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक तत्कालका लागि स्थगित भएको हो । 

नेकपा भित्र अहिले एक व्यक्ति एक पदको व्यवस्था तल देखि माथि सम्म लागु हुनु पर्ने माग चर्को रुपमा बढि रहेको छ । नेकपा भित्रको विवाद समाधानका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले ओलीमाथि दुईमध्ये एक पद त्याग्‍न दबाब बढाएका थिए। 

त्यसपछि प्रधानमन्त्री ओली रिसाएर बैठकको बीचमै निस्किएर हिँडेका थिए। नेकपामा चर्किएको गुटको विवादका कारण आज बस्‍ने भनिएको स्थायी कमिटी बैठक नै भाँडिएको छ। तर नेकपाभित्र अझै गुटभेला रोकिएको छैन। 

यसै बिच अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल निकट २० जना स्थायी कमिटी सदस्यहरु आज फेरि धुम्बाराहीमा भेला भएका छन्। नेता नेपाल निकटका नेता भीम रावलको अगुवाईमा प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग्‍ने गरी संकलन गर्न खोजिएको हस्ताक्षर भाँडिएको थियो । तर तिनै नेताहरु बिहीबार नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा भेला भएका छन्।  

नेकपाले आज ११ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक बुधबार साँझ दुई अध्यक्षले छलफल गरेर अकस्मात् स्थगित गरेपछि उनीहरू बिहीबार धुम्बाराहीमा भेला भएका हुन्। 

वैशाख ८ गते सरकारले ल्याएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता मागसहित उनीहरुले अध्यक्षद्वयलाई पत्र पनि लेखेका थिए। वैशाख २० गते बसेको नेकपा सचिवालयको बैठकले स्थायी कमिटी बोलाउने निर्णय गरेको थियो। तर नेकपामा चर्किएको गुटगत राजनीतिका कारण आज बस्‍ने भनिएको स्थायी कमिटी बैठक नै भाँडिएको हो। 

त्यसपछि कार्यकारी अध्यक्ष दाहालसँग बालुवाटारमै भएको संवादमा ओलीले बजेट निर्माण र कोरोना भाइरस नियन्त्रणमा केन्द्रित हुनुपर्ने भएकाले स्थायी कमिटी बस्‍न नसक्ने बताएका थिए। यसैबीच अध्यक्ष दाहालले आन्तरिक गृहकार्य नपुगेकाले बैठक बस्‍न नसकेको बताएका छन्। 

उनले प्रधानमन्त्री ओलीसंगको छलफल सकिएपछि २ दिनभित्र स्थायी कमिटी बैठक बोलाउने तयारी भएको बताएका छन्।  
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*