उदयपुर घर भनेपछि अस्पतालले बिरामी निकाल्यो
मोरङ्गको नोबेल शिक्षण अस्पतालले एक बिरामीलाई उदयपुर घर भएकै अस्पतालबाट निकालेको बिरामीले आरोप लगाएका छन् । सो अस्पतालले केही दिन अघि प्रसुती व्यथा लागेकी २९ वर्षीय सरस्वती रौनियारलाई अप्रेसन थियटरबाटै उदयपुर घर भएकै कारण निकाले लपछि सो प्रकरणले विवादास्पद रुप लिएको थियो ।
हिजो शुक्रबार पनि उदयपुर त्रियुगा नगरपालिकाका ठेगाना भएका १६ वर्षीय भीमबहादुर खत्रीलाई अप्रेसन थियटरबाटै रेफर गरेको छ । खत्रीका अनुसार अप्रेसन थियटर भित्र गएपछि ठेगाना सोधिएको र उनले उदयपुर भनेपछि उनलाई अप्रेसन थियटरबाटै निकालिएको गुनासो गरेका छन् ।
खत्री गत बिहीबार मात्रै हात भाँच्चिएर उपचार गराउन सो अस्पताल पुगेको र अप्रेसन बापतको शुल्क ३२ हजार रुपैयाँ अस्पताल प्रशासनमा बुझाएका थिए । तर ज्वरो आएको भन्दै उनलाई नोबेल अस्पतालबाट निकाल्दै रेफर कागज दिएको बिरामीका काका शमशेर खत्रीले गुनासो गरेका छन् । नोबेल शिक्षण अस्पतालले प्रशासनले भने, आफ्नो अस्पतालमा उपचार हुन नसक्ने भएपछि अन्यत्र रेफर गरिएको दाबी गरेको छ ।
सो अस्पतालले यसअघि सुनसरीका एक युवाको भर्ना लिन नमान्दा उनको एम्बुलेन्स भित्रै ज्यान गएको थियो । पछिल्लो समय कोरोना संक्रमणको डरले निजी मेडिकल कलेज तथा अस्पतालले बिरामी रेफर गर्न थालेको जन गुनासो बढ्दै गएको छ ।