संसदीय दलमा ओली बलियो, ९० भन्दा बढि सांसदको समर्थन
प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रतिनिधिसभाका बहुमत सांसदले हस्ताक्षर गरेका छन् । बुधबार बहुमत सांसदले प्रधानमन्त्री ओलीको पक्षमा हस्ताक्षर गरेका हुन् ।
नेकपाका एक सांसदका अनुसार नेकपा अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली सरकारविरुद्धमा अविश्वासको प्रस्ताव ल्याउन प्रमुख प्रतिपक्षि दल कांग्रेस र अन्य दलसँग छलफल गरिरहेको जानकारी पाएपछि ओलीले सांसदहरूलाई हस्ताक्षर गराएको बताए।
प्रधानमन्त्री ओलीको पक्षमा ९० भन्दा बढी सांसदले हस्ताक्षर गरीसकेको र केही मन्त्रीहरूले हस्ताक्षर गर्न बाँकी रहेको उनले बताए । ओलीको पक्षमा धेरै सांसदको हस्ताक्षर हुनु संसदीय दलमा ओली बलियो हुनु हो उनले भने।
नेकपाभित्र दाहाल र ओलीबीचको विवाद उग्र बनेर सरकार ढाल्नेसम्मको योजना बन्न थालेपछि ओली प्रतिरक्षामा उत्रिएर सरकार जोगाउन लागिपरेका छन्।
नेकपाका एक सांसदका अनुसार बामदेव पक्षका सांसदहरू तथा प्रचण्ड पक्षका केही सांसदले वर्तमान सरकार ढाल्न नहुने भन्दै ओलीको समर्थनमा हस्ताक्षर गरेका छन्। नेकपाको संसदीय दलमा रहेका १ सय ७२ सदस्यमध्ये बहुमत प्रमाणित गर्न ८८ जना सांसद चाहिने भए पनि ओलीको पक्षमा त्यसभन्दा बढीले हस्ताक्षर गरिसकेको ओली निकट सांसदले जानकारी दिए।
नेकपाभित्रको प्रचण्ड र माधव नेपाल समूहले जसरी पनि ओलीलाई सरकारबाट हटाउने रणनीति अघि सारेपछि ओली रक्षात्मक बन्दै गएका छन्। यसको कडीका रूपमा ओलीले हस्ताक्षर अभियानलाई अघि बढाएका ओली निकट ती नेताले जनाए।