नेकपाको सचिवालय बैठक आज बस्दै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । पार्टी भित्रको आन्तरीक विवाद समाधान गर्न आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटार बस्ने भएको हो ।
नेकपाले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर पार्टी भित्र चर्किएको आन्तरिक विवाद समाधान गर्न सचिवालय बैठक बोलाएको छ ।
मंगलबार नै सचिवालय बैठक बस्ने भनिए पनि सो दिन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच अलग्गै छलफल भएपछि बुधबार सचिवालय बैठक बस्ने तय भएको हो ।
यसअघि अध्यादेश जारी भएकै दिन सचिवालयको बैठक बसेको थियो ।
प्रधानमन्त्री ओलीले पार्टी फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश एक्कासी जारी गरेपछि भन्दै पार्टीभित्र र बाहिर चर्को आलोचना भइरहेको छ । चौतर्फी विरोध भएपछि अध्यादेश खारेज भइसकेको छ । तर, अध्यादेशको औचित्यबारे छलफल गर्न प्रचण्ड र माधव नेपाल पक्षले सचिवालय बैठक बोलाउन माग गर्दै आएका थिए ।
बुधबारको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्ने अनुमान गरिएको छ ।