चिकित्सकमाथि कुटपिट गर्ने डीएसपीलाई जिम्मेवारीबाट हटाइयो, छानविन समिति गठन
चिकित्सकमाथि कुटपिट भएको भनिएको घटनामा नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।
गएराति काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका चिकित्सकत्रय शम्भू खनाल तेजप्रकाश साह र विकास शाहलाई काम सकेर फर्कने क्रममा प्रहरीबाट अभद्र व्यवहार र कुटपिटसमेत समेत गरेको समाचार प्रकाशित भएको छ ।
सो घटनाको अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको संयोजकत्वमा प्रहरी उपरीक्षक मुकेश सिंह र प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी सहभागी छानविन समिति गठन गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।
कार्यालयले आज एक विज्ञप्ति जारी गरी उक्त घटनाका आरोपी महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्साललाई प्रमुखको जिम्मेवारीबाट हटाई अन्य संलग्न प्रहरी कर्मचारीमाथि समेत अनुसन्धान थालिएको जनाएको छ ।