दुई नाकाबाट मात्रै दुई हप्तामा करिब १ लाख नेपाल भित्रिए
भारतसँग सिमा जोडिएका सुदूरपश्चिम प्रदेशका दुई सिमा नाकाबाट १७ दिनमा ९५ हजार जना नेपाल भित्रिएका छन् । सुदुरपश्चिमको कञ्चनपुरस्थित गड्डाचौकी नाकाबाट ६३ हजार १ सय ७६ र कैलालीको गौरीफन्टा नाकाबाट ३१ हजार ६ सय ५४ जना नेपाल भित्रिएको क्वारेन्टाइन कार्यालयले जनाएको छ ।
गत फागुन २३ गतेदेखि कञ्चनपुरमा हेल्थ डेस्कको स्थापना गरिएको थियो भने कैलालीमा फागुन २२ गते देखि हेल्थ डेस्क स्थापना गरिएको थियो । दुवै नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्य कर्मीले नेपाल आउने र जाने सबैको स्वास्थ्य परीक्षण गरिरहेका छन् । शनिबार कञ्चनपुरको गड्डाचौकीमा नेपाल आउनेहरूको भीडका कारण स्वास्थ्य परीक्षणमा समस्या परेको थियो ।
शनिबार मात्र गड्डाचौकी नाकाबाट १५ हजार भन्दा बढी नेपाल भित्रिएको कञ्चनपुर क्वारेन्टाइन कार्यालयले जनाएको छ ।
कैलालीको गौरीफन्टा नाकाबाट भने ५ हजार ४ सय ९५ नेपाल भित्रिएका छन् । गौरीफन्टा नाकाबाट मध्य रातमा समेत नेपाल आएको पाइएको क्वारेन्टाईन कार्यालयले जनाएको छ ।
शनिबार भीडभाड रहेको कैलाली कञ्चनपुरका सीमा नाका आइतबार भने सुनसान देखिन्थे । भारतमा कर्फ्यु लागेपछि नेपाल आउनेहरूको संख्यामा कमी आएको क्वारेन्टाईन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नेपाल भारत सीमा क्षेत्रमा बढी चहलपहल भएको भन्दै ११ गते देखि सीमा बन्द गर्ने निर्णय गरेको छ ।