कारोनाको प्रभावः युरोपबाट अमेरिका प्रवेशमा प्रतिबन्ध
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमण फैलनबाट रोक्नका लागि युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाएका छन् ।
यो नियम शुक्रबारबाट ३० दिनसम्मका लागि लागू हुने ट्रम्पले घोषणा गरेका छन् । बिहिबार बिहानको सम्बोधनमा ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।
यद्यपि, उक्त ‘कडा तथा अत्यावश्यक’ प्रतिबन्ध बेलायतका लागि भने लागू नहुने ट्रम्पले बताएका छन् । बेलायतमा ४ सय ६० जनाको संक्रमण देखिएको छ ।
अमेरिकामा कोरोना भाइरसको संक्रमण १ हजार १ सय ३५ मा पुष्टि भइसकेको छ । अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ ।
‘नयाँ संक्रमण हाम्रोमा प्रवेश हुन रोक्नका लागि हामीले युरोपबाट हुने सबै यात्रालाई अबको ३० दिनसम्म रद्द गर्नेछौं,’ ट्रम्पले भने ।
उनले थपे, ‘हाम्रो दुश्मन एउटै छ, वास्तवमा यो संसारभरीको दुश्मन हो । कोरोना भाइरस । यसलाई चाँडोभन्दा चाँडो र सुरक्षित तरिकाले हराउनु पर्छ । मेरा लागि अमेरिकी जनताको सुरक्षा र जीवनभन्दा महत्वपूर्ण अरु केही छैन ।’
ट्रम्पले कंग्रेसलाई अमेरिकी अर्थतन्त्रमा कोरोना भाइरसको प्रभाव रोक्नका लागि कांग्रेसलाई कर छुटका उपायसहितका बिल पास गर्न आग्रह गरेका छन् ।
‘म अमेरिकी जनताको तलबमा कर छुट तत्काल लागू गर्न कांग्रेसलाई आग्रह गर्न चाहन्छु,’ उनले भने । एजेन्सी