मकवानपुरको चेपाङ बस्तिमा विश्वसुन्दरी, शृङखलाद्वारा निर्मीत स्वास्थ्य चौकीको अवलोकन
मकवानपुरको कैलाश गाउँपालिका वडा नं ७ तामलाङस्थित निर्माण गरिएको स्वास्थ्य चौकीको अवलोकन गर्न मिस वल्र्ड २०१९ सहितको टोली पुगेको छ । पुर्व मिस नेपाल शृङखला खतिवडा निर्माण गरेको ङिको स्वास्थ्य चौकीको अवलोकनका लागि मिस वल्डसहित टोली तामलाङ आइपुगेको हो ।
शुक्रबार मिस वल्र्ड टोनी एन सिंह, मिस वल्र्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २०१८ श्रृंखला खतिवडा, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र मिस नेपालका आयोजकहरु ङिको स्वास्थ्य चौकीको अवलोकनका लागि तामलाङ पुगेका हुन् । पाहूनाहरु तामलाङ पुग्दा कैलाश गाउँपालिका तथा स्थानीयबासिन्दाहरुले भव्य स्वागत गरेका थिए ।
मिस वल्र्ड च्याम्पियनमा नेपालका तर्फबाट प्रतिनिधित्व गरेकी खतिवडाले ब्युटी विथ पर्पज विद्या जित्न सफल भएकी थिईन । उनले स्वास्थ्यचौकी मिस वल्ड आयोजकहरुलाई अवलोकन गराएकी हुन् ।
बागमती प्रदेश सांसद एबम् खतिवडाकी आमा मुनु सिग्देलका अनुसार स्वाथ्यचौकीको अवलोकनपछि मिस वल्र्डकी अध्यक्ष मोर्लेले बर्थिङ सेन्टर चलाउन आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
कैलाश गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा मिस वल्र्डकी अध्यक्ष मोर्लेले २०१८ को मिस वल्र्डमा ब्युटी विथ पर्पज जित्न सफल भएको स्थानमा पुग्न र देख्न पाएकामा खुसी व्यक्त गरिन् । कार्यक्रममा बागमती प्रदेश सांसद मुनु सिग्देल, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, उपाध्यक्ष सुकुमाया थिङ, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट लगायत जनप्रतिनिधिहरु र सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।