आइसीयुमै प्रधानमन्त्री ओली ले गरे ठट्टा, उनले भनेः मेरा बा ९० पुग्नु भो, म पनि त्यति त बाँच्छु नि!
त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली उठेर बस्न थालेका छन् । बुधबारको प्रत्यारोपनपछि बिहीबार बिहानदेखि झोल पदार्थ खान थालेका प्रधानमन्त्री ओली शुक्रबार बिहानदेखि अस्पतालको आईसीयुमा उठेर बस्न थालेका हुन्।
आईसियुको बेडबाट उठेर बस्न थालेसँगै ओलीले चिकित्सकहरुसँग हाँसो ठट्टा गर्न थालेका छन् । आफ्ना निजी चिकित्सकहरु डा.अरुण सायमी, डा. दिलीप शर्मा र डा. दिव्या सिंह शाहसँग ओली खुलेर ठट्टा गरिरहन्छन्।
उनले चिकित्सकहरुसँगको ठट्टाका क्रममा आफ्न बुवा मोहनप्रसाद ओलीलाई सम्झिएका थिए। ‘मिर्गौलाले काम गर्न थालिगयो, अब मलाई अझै १५/२० वर्ष केही हुँदैन’, ओलीले ठट्यौली शैलीमा चिकित्सकहरुसँग भने, ‘मेरा बा अहिले ९० वर्ष पुग्नुभयो, म पनि त्यति त बाँच्छु नि!’
प्रधानमन्त्रीलाई आजेदेखि फिजियोथेरापी पनि गराउन थालिने उनको उपचारमा संलग्न एक चिकित्सकले बताएका छन् ।
प्रधानमन्त्रीलाई यसअघि पटक पटक छातीको संक्रमणले सताएको थियो। यो पटक उक्त संक्रमण दोहोरिन नदिन चिकित्सकले विशेष सजगता अपनाएका छन् । सीमित चिकित्सक मात्रै ओलीको नजिकमा छन्।
ओलीलाई मिर्गौला दान गरेकी ३२ वर्षीया भाञ्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्यमा सुधार भएसँगै उनलाई केही दिनमै डिस्चार्ज दिने तयारी चिकित्सकहरुले गरेका छन्।