गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्ष विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा
जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष र वडा नम्बर ५ का वडा अध्यक्ष विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाहीविरुद्ध आयोगले घुस लिएको दाबीसहित मुद्दा दायर गरेको हो ।
गाउँपालिका अध्यक्ष र वडा अध्यक्षले सडक निर्माण कार्यमा कमिसन बापत २५ लाख ५० हजार रुपैयाँ घुस लिएको दाबी सहित अख्तियारले केसी र शाहीविरुद्ध बिहीबार मुद्दा दायर गरेको आयोगले जनाएको छ ।
आयोगमा केसी र शाहीले कमिसनका लागि डरधम्की दिएर घुस दिन बाध्य बनाएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानको क्रममा केसी र शाहीले कमिशनको लागि बार्गेनिङ गरी नगद लिनुका साथै बैंक खातामा समेत रकम जम्मा गर्न लगाएको पुष्टि भएको थियो ।