बागमती प्रदेशको लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया सुरु गर्ने
बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया सुरु गर्ने जनाएको छ । आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले चालू आर्थिक वर्षको असार मसान्तसम्ममा प्रदेश र स्थानीय तहका लागि आवश्यक पर्ने कर्मचारीमध्ये केही संख्यामा मात्रै भए पनि कर्मचारी भर्ना प्रक्रिया सुरु गर्ने जानकारी दिएका छन् ।
उहाँले प्रदेशमा थुप्रै पद खाली भएको उल्लेख गर्दै आवश्यकता र प्राथमिकताका आधारमा भर्ना प्रक्रिया अगाडि बढाइने बताए ।
कर्मचारीले विभिन्न कारणले राजीनामा दिएका कारण पनि हाल प्रदेशमा ठूलो संख्यामा विभिन्न पद रिक्त रहेको छ । तह बढुवा गर्नका लागि मात्रै प्रदेश र स्थानीय तह रोजेका कर्मचारीले धमाधम राजीनामा दिन थालेका छन् ।
यसरी राजीनामा आउन थालेपछि प्रदेश र स्थानीय तहमा कर्मचारी अभावका कारण काम गर्न समस्या भइरहेको छ । उक्त समस्या समाधानका लागि प्रदेशको लोकसेवा आयोगले असार महिनासम्म पहिलो चरणमा कर्मचारी भर्ना गर्न लागेको हो ।
अध्यक्ष श्रेष्ठले प्रदेश र स्थानीय तहमा जुन पदमा धेरै कर्मचारी आवश्यक छ त्यही पदमा पहिलो चरणमा कर्मचारी भर्ना गरिने जानकारी दिए ।
यसैबीच प्रदेशमा आइसकेका एक सयभन्दा बढी कर्मचारीले राजीनामा दिएका छन् । संघीय सरकार मातहत रहेका कर्मचारी प्रदेश मातहत आउने अनि राजीनामा दिने क्रम बढेर गएको छ ।
संघबाट प्रदेशमा आउँदा कर्मचारी दुई तहसम्म बढुवा भएका थिए । बढुवा भएपछि राजीनामा दिँदा उपदान रकम पनि बढी आउने भएकाले प्रदेशमा आएर राजीनामा दिने प्रचलन बढ्न थालेको हो । रासस