महराको त्यो अंग्रेजी, बाँस्कोटाको यो अपशब्द
७० करोड घूस मागेको अडियो टेप सार्वजनिक भएर गोकुल बाँस्कोटाले मन्त्री पदबाट हात धुनुपरेपछि धेरैले कृष्णबहादुर महरालाई सम्झेका छन्।
यौनकाण्डमा फसेर भर्खरै जेलबाट छुटेका पूर्वसभामुख महराको पनि केही वर्षअघि यस्तै एउटा अडियो टेप बाहिरिएको थियो।
तत्कालीन नेकपा (माओवादी) का नेता महरा चिनियाँ व्यापारीसँग ५० करोड माग्दै थिए। तत्कालीन एमाले नेता माधवकुमार नेपालको सरकार ढालेर माओवादी नेतृत्वमा सरकार बनाउन ‘सांसद किन्न’ महराले उक्त रकम मागेका थिए।
२०६७ भदौ १८ गते सार्वजनिक अडियोमा महराले प्रधानमन्त्री निर्वाचनका लागि ५० सांसद खरिद गर्नुपर्ने र त्यसका लागि ५० करोड रुपैयाँ आवश्यक परेको बताएका छन्।
अडियो संवादमा महराले चिनियाँ नागरिकलाई ५० करोड नेपाली रुपैयाँ लिन आफू सिङ्गापुर, हङकङ अथवा चीनको छेन्दु सहरमा आउन तयार रहेको बताएका थिए।
भारतबाट प्रसारण हुने नेपाली भाषाको टिभी च्यानल ‘नेपाल वान ’मार्फत बाहिरिएको उक्त टेपबारे महराले ‘झुटो’ भनेर प्रतिक्रिया दिएका थिए।
यस्तै नेपालस्थित चिनियाँ दूतावासले पनि अडियो वार्ता झुटो रहेको जिकिर गरेको थियो। संवादमा महराको अंग्रेजी संवादलाई लिएर निकै उडाइएको थियो।
महराको त्यो अडियोको आधिकारिक परीक्षण हुन सकेको छैन। यस्तै त्यसबारे कुनै छानबिन पनि भएन। महरा झन् शक्तिशाली बन्दै गए।
उनी दुई वटा निर्वाचनमा विजयी भई मन्त्री र सभामुखसम्म बने। केही महिनाअघि संसद् सचिवालयकी एक कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि उनले सभामुखबाट राजीनामा दिनुपरेको थियो।
अहिले महराकै प्रकृतिको अर्को अडियो सार्वजनिक भएको छ। बहालवाला मन्त्री गोकुल बाँस्कोटाले एउटा विदेशी कम्पनीको एजेन्टसँग ७० करोड मागेका छन्।
जसरी महराले बोलेको अंग्रेजीलाई मजाक बनाइएको थियो, त्यसरी नै अहिले अपशब्द प्रयोग गरेर बाँस्कोटा आलोचित बनेका छन्।
भ्रष्टाचारको कुरा त छँदैछ, अडियोमा बाँस्कोटाले सरकारी कर्मचारीप्रति प्रयोग गरेको अपशब्दलाई लिएर आलोचना भइरहेको छ। निजामती कर्मचारीले सञ्चारमन्त्रीको आलोचना गरेका छन्।
स्विस कम्पनीका स्थानीय एजेन्ट विजयप्रकाश मिश्रसँग मन्त्री बाँस्कोटाले गरेको 'डिल' जस्ताको तस्तै :
मिश्र : यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ। स्वीस एम्बेसीले बोलाएर आउँछ, तपाईंले बोलाएर आउने हैन
बाँस्कोटा : हँ…
मिश्र : सकेसम्म एमओयू गर्ने कि भन्ने हिसाबले आउन थालेको छ। तपाईंहरुको कार्यक्रमको बारेमा एम्बेसडरले छुट्टै कुरा गर्न चाहेको छ।
बाँस्कोटा : ठीक छ।
मिश्र : त्यसका लागि तपाईंले टाइम मिलाइदिनुपयो।
बाँस्कोटा : मिलाइदिन्छु।
मिश्र : त्यसका लागि (कमिसनका लागि) हामी आउट अफ ट्र्याक जाने कि तपाईंले भनेअनुसार नै गर्ने ? लु भन्नुस्।
बाँस्कोटा : अब… क्यापासिटीको कुरा…!
मिश्र : कुराचाहिँ मैले राखेको छु उनीहरुलाई।
बाँस्कोटा : उनीहरुलाई नर्मलमा ५० भन्ने?
मिश्र : त्यसमा… नर्मलमा…।
बाँस्कोटा : उनीहरुले कति निकाल्छन्?
मिश्र : यसको टोटलको पर्सेन्ट निकाल्ने हो।
बाँस्कोटा : टोटल कति निस्कन्छ, त्यो हेरौं।
मिश्र : केही न केही त भइरा’छ, त्यही बेसमा जाने हो। बेसचाहिँ तपाईंहरुको उसमै जाने हो हामी।
बाँस्कोटा : सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो। मानौं २५ निस्क्यो भने कति हुन्छ?
मिश्र : ७० जति आउला कि ! आउट अफ ट्र्याक नजाँदा ७० जति आउला कि।
बाँस्कोटा : तपाईंलाई के गर्छन्? छुट्टै गर्छन्?
मिश्र : टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत तपाईंहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।
बाँस्कोटा : त्यो भनेको कति हुन्छ?
मिश्र : ५४ देखि ५५ करोड तपाईंहरुलाई दिने, १५ देखि १६ हामीले राख्ने । हामीले पनि त अलि अलि राख्नुपयो नि। आउट अफ ट्रयाक गइयो भने… ।
बाँस्कोटा : अनि यो कर्मचारीसँग कसले कुरा गर्छ नि?
मिश्र : त्यो कुरा तपाईं गर्नुस् ।
बाँस्कोटा : एउटा के नगर्नुस् भने यी मु… कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने यिनले हेप्छन्। त्यस कारण यो कुरामा तपाईं आफैैं लाग्नुस्। कुरा बुझ्नुभो?
मिश्र : त्यसो भए म आफैं लाग्छु। उसले त बनाएर राखिसकेको छ।
बाँस्कोटा : त्यो मु… ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्क्यो भने २८ अर्बको बनाउनुस्।https://youtu.be/dClS57cOfAY
स्रोत: नेपाली समय