प्रम ओलीलाई भट्टराईको सुझावः “अरूमाथि हिलो छ्यापेर आफ्नो आङको फोहोर पखालिन्न भन्ने बुझ्दा राम्रै होला”

हेटौडा न्युज
७ फाल्गुन २०७६, बुधबार १७:५८
;

ट्रस्टको जमिनमाथि सरकारले छानबिन गर्ने भएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । काठमाडौंको मातातीर्थस्थित नेपाल ट्रस्टको जमिन व्यक्तिका नाममा दर्ता गरेको विषयमा सरकारले छानबिनको थालनी गरेपछि उनले आपत्ती जनाएका हुन् । 

२०६९ कात्तिक २ गते नेपाल ट्रस्ट ऐन २०६४ को दफा ९४० को उपदफा २ र ३ विपरीत निर्णय भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गाका बारेमा छानबिन हुने बताएपछि उनले आपत्ति जनाएका हुन् । 
समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले ट्विटरमार्फत प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिशोधका आधारमा नीतिगत निर्णयलाई उछालेर संसद र जनतामा भ्रम छर्नु आपत्तिजनक भएको बताएका छन् ।
“सत्यतथ्य नबुझी राजनीतिक प्रतिशोधको मनसायले देशको प्रम@kpsharmaoli ले २०२६ सालमै राजा महेन्द्रले बिर्ता त्यागी रैकरमा परिणत गरेको मातातीर्थको जोताहा–मोहीको जग्गासम्बन्धी मेरो मन्त्रिपरिषदको नीतिगत निर्णयलाई उछालेर संसद र जनतालाई भ्रम छर्नु आपत्तिजनक छ,” उनले लेखेका छन् । 

मन्त्रिपरिषद्को विधिसम्मत नीतिगत निर्णयलाई काटेर कालीदासले झैं हाँगामा बसेर फेद काट्दा के हविगत हुन्छ स्मरण गर्नु उचित होला !,” भट्टराईले लेखेका छन्, “जोताहा किसानको जमिन फेरि राजाको नाउँमा लगेर ट्रस्ट हुँदै यति होल्डिङ्ग्सलाई सुम्पने दाउ हो भने भन्नु केही छैन !”

पूर्वप्रधानमन्त्री भट्टराईले अरूमाथि हिलो छ्यापेर आफ्नो आङको फोहर पखालिन्न भन्ने बुझ्दा राम्रो हुने पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । 

“मैले पनि असहजता महसुस गरेको छु  ! सुर–असूर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी नीलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘नीलकण्ठ’ बन्न तयार छु ! तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्! वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्धले अघि देखिने चैं फस्ने नहोस् !”
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*