विवाह गर्ने उमेर १८ वर्ष कायम गर्न सांसद यादवको माग
विवाह गर्ने उमेर १८ वर्ष कायम गर्न प्रदेश ५ का एक सांसदले माग गरेका छन् । प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै समाजवादी पार्टीका सांसद विजयबहादुर यादवले किशोरीको विवाह गर्ने उमेर १८ वर्ष कायम गर्नुपर्ने माग गरेका हुन् ।
सोमबार बसेको बैठकमा सांसले यादवले विद्यमान कानूनमा विवाह गर्ने उमेर २० वर्ष तोकिँदा विशेष गरी मधेशी र मुस्लिम समुदायमा यौनजन्य विकृति र अपराध बढेको दाबी गरेका छन् ।
राज्यले १६ वर्षमा नागरिकता दिने, १८ वर्ष पुगेकालाई मतदान गर्न दिने अनि विवाह गर्ने उमेर २० वर्ष तोक्नु अवैज्ञानिक र अव्यवहारिक भएको उनको तर्क छ ।
प्रहरी प्रशासनले तराईका जिल्लाहरुमा बालविवाहको आरोपमा मधेशी र मुस्लिम समुदायमाथि धरपकड र दुःख दिने काम मात्र गरेको आरोप समेत लगाएका छन् । उनले कानून संशोधन गरी विवाह गर्ने उमेर १८ वर्ष बनाउनुपर्ने माग गरेका हुन् ।