प्रम ओली जनयुद्ध दिवसको कार्यक्रममा गएनन्, अनेरास्ववियूको क्याम्पसहरुलाई कार्यक्रम गर्न सर्कुलर
तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन आज फागुन एक गते, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरि मानाएको छ ।
२०५२ साल फागुन १ गतेदेखि तत्कालीन माओवादीले जनयुद्ध घोषणा गरेको थियो । तत्कालीन विद्रोही नेकपा माओवादीले संविधान सभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा सशस्त्र विद्रोहको सुरुवात गरेको थियो ।
२०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि सशस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भएको थियो ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका नेताहरु सहभागी भएका थिए ।
कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएनन् । यसअघि नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले संयुक्त रुपमा सूचना जारी गरी ओली र प्रचण्ड दुवैको सहभागीतामा कार्यक्रम हुने जानकारी दिएका थिए । कार्यक्रममा प्रधानमन्त्री ओली जाने कार्यक्रम तय भएपनि अन्तिममा रद्द गरिएको बालुवाटार स्रोतले जनाएको छ ।
तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको अवसर पारेर फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आए थियो । पार्टी एकतापछि कार्यक्रमको नाम परिवर्तन गरेर ‘जनआन्दोलन तथा जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली’ राखिएको हो ।
पार्टी एकता भएपनि अघिल्लो वर्ष यो कार्यक्रममा सहभागी नभएका प्रधानमन्त्री ओली यसपाली सहभागी हुने बताइएको थियो। तर अन्तिम समयमा ओली सहभागी भएनन् ।
यसैबीच जनयुद्ध र जनआन्दोलनका शहीदहरुको स्मृतिमा नेकपाका भ्रातृ संगठनहरुले आज बिभिन्न कार्यक्रम गर्दैछन् । आजै ११ बजे जनक्रान्तिका घाइते अपांग योद्धा संघले महाराजगञ्जस्थित रोयल पार्टी प्यालेसमा, जनसाँस्कृतिक महासंघले १ बजे पार्टी कार्यालय पेरिसडाँडामा र वेपत्ता योद्धा फाउन्डेशनले दिउँसो २ बजे जनपथ मावि कलंकीमा कार्यक्रम आयोजना गर्दैछन् ।
यसैगरी नेकपा सम्बद्ध अनेरास्ववियूले पाँच बजे माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गर्दैछ ।
अनेरास्ववियूले देशभरका क्याम्पसहरुमा जनयुद्ध र जनआन्दोलनका शहिदहरुको स्मृतिमा श्रद्धान्जली सभा तथा दीप प्रज्ज्वलन कार्यक्रम गर्न सर्कुलर गरेको छ । यसैक्रममा बिहीबार बिहान आरआर क्याम्पसमा २५ औं जनयुद्ध दिवस जिन्दाबाद लेखिएको ब्यानरसहित बेलुन उडाइएको छ ।