भुकम्पपछि मकवानपुरमा १८ हजार लाभग्राहीले गरे घर निर्माण
भुकम्पपछि मकवानपुरमा करिब (४७ प्रतिशत) लाभग्राहीले घर निर्माण गरेको छ । भूकम्प प्रभावित जिल्ला मकवानपुरमा भूकम्प गएपछिको ५७ महिनाको अवधीमा झण्डै १७ हजार ८ सय लाभग्राहीले घर बनाएको हो । मकवानपुरमा कुल लाभग्राही संख्या ३४ हजार ६ सय १२ मध्ये २९ हजार ९ सय १९ जना (८७ प्रतिशत) लाभग्राहीले अनुदान सम्झौता गरेको जिल्ला आयोजना कार्यान्वयन हेटौंडाले जनाएको छ ।
४ हजार ६ सय ९३ लाभग्राहीसँग अहिलेसम्म अनुदान सम्झौता हुन सकेको छैन । बाँकी ती लाभग्राही सम्झौता गर्न किन नआएका भन्ने जानकारी लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरू परिचालित हुने जनाईएको छ ।
अनुदान सम्झौता भएका मध्ये ८७ प्रतिशत लाभग्राहीले प्रथम किस्ताको रकम बुझेर लगिसकेका छन् । २३ हजार ९ सय ७१ अर्थात ७० प्रतिशत लाभग्राहीले दोस्रो किस्ता लगेर बनाइरहेको कार्यालयले जनाएको छ । तेस्रो किस्ता भने १९ हजार ५ सय ६१ जना लाभग्राहीले मात्र बुझेको कार्यालयले जनाएको छ ।