‘सभापति देउवाकै अघि गमला र इँटाले हाने, ब्यानर च्यातिदिए’
नेपाल विद्यार्थी संघ ९नेविसंघ० को तदर्थ समिति घोषणा अघि हुनुभन्दा अगाडि नै नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप भएको छ ।
पूर्वमहामन्त्री कुन्दनराज काफ्लेको समुहले नेविसंघमा विधान मिचेर तदर्थ समिति ल्याउन लागेको भन्दै आज सोमबार देखि आमरण अनसन सुरू गरेको थियो ।
पार्टी केन्द्रीय कार्यालय सानेपाको मुख्य ढोकाछेउ एक महिनादेखि रिले अनसन जारी राखेपनि नेतृत्वले विधान मिचेर एक सय २७ सदस्यीय नेविसंघ तदर्थ समिति ल्याउन खोजेपछि आमरण अनसन सुरू भएको हो ।
नेपाली कांग्रेसको पार्टी सभापति शेरबहादुर देउवा कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघका पूर्वमहामन्त्री काफ्ले समूहले उमेरको हदबन्दी तोकिनुपर्ने माग राख्दै पार्टी कार्यालयमा अनसनमा बसेपछि देउवा समूहले हातपात गरेको हो ।
सभापति आएपछि काफ्ले समुहले विधान मिच्न नपाइने भन्दै नारा लागाईरहेका बेला देउवा पक्षका नेविसंघ अनसन बसिरहेको काफ्ले समुहमाथि जाइलागे पछि झडप सुरु भएको हो । देउवा पक्षका विद्यार्थीले आमरण अनसन बसेका विद्यार्थीलाई गमला र इँटाले हानेको स्रोतले जनाएको छ । कमल पन्त र लक्ष्मी बोगटी घाइते छन्। उनीहरूको सानेपाकै स्टार अस्पतालमा उपचार भइरहेको छ।
देउवा पक्षका नेविसंघले आमरण अनसन लेखेको ब्यानरसमेत च्यातिदिएका छन् । नेविसंघ काठमाडौं जिल्ला अध्यक्ष मनोज बैद्य, विकास केसीलगायतले आमरण अनसनरत विद्यार्थीमाथि आक्रमण गरेको स्रोतको दावी छ ।
नेविसंघमा ३२ वर्षे उमेरहद लागू गर्नुपर्ने र अहिले नै गर्न नहुने पक्षबीच विवाद छ । आमरण अनसन बसेका एक विद्यार्थी नेता मनिष सिंखडाले भने, ‘सभापति देउवाकै अघि हामीमाथि गमला र इँटाले हाने, ब्यानर च्यातिदिए।’