राष्ट्रपति भण्डारीका विज्ञ–सल्लाहकार प्याकुरेलले दिए राजीनामा
राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ–सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। सरकारको नीति र कार्यशैलीप्रति असन्तुष्ट जनाउदै प्याकुरेलले आफ्नो राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार पेस गरेका हुन् ।
मानवअधिकार क्षेत्रका क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो।
राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त समेत रहेका प्याकुरेलले नेपाल कम्युनिष्ट पार्टीबाट सभामुख बन्न लागेका नेता अग्नि सापकोटाविरूद्ध सर्वोच्च अदालतमा मुद्धा हालेका थिए।
द्वन्द्वकालीन मुद्दामा मुछिएका विवादित सापकोटालाई सभामुख चयन गर्ने निर्णयपछि उनले पदबाट राजीनामा दिएको बुझिएको छ । संवैधानिक इजलासले सापकोटाको मुद्दामा माघ २२ लाई पेशी तोकेको छ।
उनले राजीनामापछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, :- लोकतान्त्रिक आन्दोलनका दौरानमा सिकेको सबैभन्दा ठूलो शिक्षा के हो भने कुनै पनि औपचारिक जिम्मेवारीमा आसीन हुन आवश्यक पर्ने सबैभन्दा ठुलो योग्यता उच्च नैतिक चरित्र तथा देश र नागरिक प्रतिको उत्तरदायित्व हो । हामीले ठूलो संघर्षद्वारा स्थापित गरेको यस राजनीतिक प्रणाली भित्र मानव अधिकार र सामाजिक न्यायको निःशर्त र पूर्ण सम्मान गर्ने राष्ट्रका रुपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय जगतमा समेत नेपालले आफ्नो छवि अझ उज्यालो बनाउनु पर्दछ । यसका लागि सबैभन्दा बढी योगदान सरकारको नेतृत्व गरिरहेको नेकपाले गर्न सक्दछ । साथै, गत निर्वाचनको जनमतले सरकारलाई सजग तुल्याइरहने पहरेदारको भूमिकामा स्थापित गरेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि भागवण्डाको सोचभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्न सक्नुपर्दछ।