अवोध छोराछोरीसँगै मर्ने आमाबाबुको ‘ट्रेजेडी’
एकजना २ वर्षे छोरा । अनि अर्को २ महिने । चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३५ वर्षीय विनय लामिछाने आफ्नी श्रीमती जमुनासहित गत बिहीबार त्रिशुलीमा हामफाले । केही क्षणमा विनयकी पत्नी जमुनाको लास भेटियो । दुई छोराहरु बेपत्ता हुँदा पति विनयलाई प्रहरीले दुर्घटनाग्रस्त अवस्थामा उद्धार गर्यो ।
घटना भएको केही क्षणपछि सामुहिक आत्महत्याको तीतो यथार्थ मिडियाभरी फैलियो । प्रहरीले घटनाबारे अनुसन्धान गरेपछि ‘मिटर ब्याजको ऋण’ तिर्न नसकेर आत्महत्या गरेको यथार्थ प्रस्तुत गर्यो ।
तथापि अपराधशास्त्रको नजरले हेर्दा यो घटना सामूहिक आत्महत्या नै हो वा यसमा विनयको कुनै मनसायले काम गरेको छ भन्ने पुष्टि भइसकेको छैन । किनभने, अन्य सबैको मृत्यु भएको छ र उनीमात्र बाँचेका छन् । अहिलेसम्म यो घटनालाई प्रहरीले ‘सामूहिक आत्महत्या’ कै रुपमा विश्लेषण गरेको छ ।
विनयले त्रिशुलीमा हाम फाल्नुअघि घरमा छाडेको ‘सुसाइड नोट’मा धेरैलाई पैसा तिर्न बाँकी उल्लेख थियो ।
भारतमा जस्तै नेपालमा पनि सामूहिक आत्महत्याको यो पहिलो घटना थिएन ।
सामूहिक आत्महत्याका सिलसिला
दुई वर्षअघि काभ्रेमा एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका थिए । घटना भएको स्थानमा विषको भाँडो भेटिएको थियो । उक्त घटनामा ३२ वर्षका राजाराम दाहाल, बुवा हरिभक्त, आमा हरिमाया र बहिनी रञ्जना मृत फेला परेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले ‘गरिबीका कारण आत्महत्या’ हुन सक्ने देखाएको थियो ।
यो सामूहिक आत्महत्या भएको हप्ता बित्न नपाउँदै काभ्रेकै बडालगाउँमा एक दम्पतीले आत्महत्या गरे । आत्महत्या गर्ने ३२ वर्षीय सोमप्रसाद दाहाल र उनकी श्रीमती १८ वर्षिया मनिषा दाहाल थिए । उनीहरुको आत्महत्याको कारण बहुविवाह र आर्थिक समस्या रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
गत वर्षमात्रै चितवनको भरतपुर महानगरपालिका–१८, शशिनगरमा एकै परिवारका तीन जनाले आत्महत्या गरे । छोराले लेखेको सुसाइड नोटमा ‘बुबा, तपाईं हामीलाई नसोधी किन जानुभयो ? ममीले साह्रै दुःख मान्नुभएको छ’ भन्ने लेखिएको थियो ।
विश्व स्वास्थ्य संघको तथ्यांक भन्छ, हरेक वर्ष विश्वमा ९ देखि १० लाख मानिसहरुले आत्महत्या गर्छन् । प्रत्येक ४० सेकेण्डमा एकजनाले आत्महत्या गरिसकेको हुन्छ । वर्षमा ३५ हजार मानिसले अमेरिकामा मात्रै आत्महत्या गर्छन् ।
नेपालमा पनि आत्महत्याको दर सन् १९९० को दशकको तुलनामा ६० प्रतिशत वृद्धि भएको छ । सामूहिक आत्महत्याको बारेमा नेपालमा कुनै अध्ययन नभइरहेको अवस्थामा यस्ता विद्रूप घटनाहरु दोहोरिरहेको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार आजभन्दा १० वर्ष अघि दैनिक ८ जनाले आत्महत्या गर्थे, अहिले त्यो सङख्या बढेर १६ को हाराहारीमा पुगेको छ ।
यस्ता तथ्याङ्कहरु हेर्दा आजकाल आत्महत्या सामान्य विषय लाग्न थालेको छ । के तथ्याङ्कले देखाएजस्तै आत्महत्या सामान्य हो त ? एउटा मानिसले सामूहिकरुपमा आत्महत्या गर्ने हिम्मत जुटाउन कति असामान्य परिस्थितिहरु सामना गर्नुपर्ला ? एउटा मान्छेले अर्को मान्छेलाई आफूसँगै आत्महत्या गर्ने अवस्थामा तयारी गराउन के–कस्तो परिस्थिति निर्माण गर्ला ? के मानिसलाई आइलाग्ने परिस्थितिले आत्महत्या गर्ने मनस्थिति निर्माण गर्ने हो ? बाबुआमाले आफू आत्महत्या गर्दै गर्दा आफ्ना सन्ततीको ‘हत्या’ गर्ने हिम्मत कहाँबाट जुटाउँछन् ? कसैको आत्महत्या गर्ने योजनामा अर्को मानिस कसरी सामेल हुन्छ ?
समाजशास्त्र र मनोविज्ञानले यी सबै प्रश्नको छोटो तर विस्तृत उत्तर दिन्छ, ‘अत्यधिक महत्वकांक्षा र न्यून धैर्यता ।’
फेरि, अर्को प्रश्न उठ्न सक्छ, ‘उच्च महत्वाकांक्षी र कम धैर्यवान मानिसले मात्रै आत्महत्या गर्छन् त ? सामान्य जीन्दगी बिताइरहेको मानिसले आत्महत्या गर्न सक्छ कि सक्दैन ?’
मनोविज्ञान र समाजविज्ञानको एउटै सार छ— सामान्य जीवनयापन गरिरहेको मानिसले पनि आत्महत्या रोज्न सक्छ । तर, उसको जिन्दगीमा अकस्मात असमान्य परिस्थिति भने निर्माण भएकै हुनुपर्छ । अर्थात, आत्महत्या रोज्दै गर्दा निराशाबाट गुज्रिरहेको या जीवनबाट असन्तुष्ट भने भएकै हुन्छ ।
आत्महत्याको कारण के हो ?
आजभन्दा एक सय वर्षअघि आत्महत्या जैविक कारणले भएको मानिन्थ्यो । ‘शरीरमा एउटा त्यस्तो अंग हुन्छ, जसले आत्महत्या गर्न प्रोत्साहन गर्छ र आत्महत्या रोग हो,’ भन्ने विश्वासका साथ आत्महत्यालाई जीव विज्ञानले अध्ययन गर्थ्यो ।
जीव विज्ञानले मानेको सत्यलाई ‘आत्महत्या रोग हैन’ भन्दै मनोविज्ञानले व्याख्या गर्यो । ‘आत्महत्या गर्नुको कारण मानिसको मनोविज्ञान हो’ भन्दै मनोविज्ञानले अध्ययन गर्न थाल्यो । त्यसको केही दशक आत्महत्यालाई मानिसको मनोविज्ञानसँग जोडेर प्रस्तुत गर्न थालियो ।
सन् १८६० मा समाजशास्त्री इमाइल दुर्खिमले ‘सुसाइड’ भन्ने पुस्तक निकालेपछि मनोविज्ञानको पुरानो व्याख्या लामो समय टिकेन । दुर्खिमको पुस्तकले ‘आत्महत्याको प्रमुख कारण समाज हो’ भन्दै आत्महत्यालाई नयाँ तरिकाले व्याख्या गरिदियो ।
दुर्खिमले उक्त भनाइलाई व्याख्या गर्दै समाजको रीतिरिवाज, संस्कृति र सामाजिक घटनाले आत्महत्याका लागि मनोविज्ञान तयार गरिदिने व्याख्या गरे ।
पुस्तकले युद्ध हारेर आएका सिपाही र जितेर आएका सिपाहीका बारेमा अध्ययन गरेको थियो । सिपाहीहरुलाई अध्यनको विषयवस्तु छान्नुको कारण त्योबेला आत्महत्या गर्ने सिपाहीहरु बढी थिए । युद्ध जितेर आएका सिपाहीहरुले समाजमा सम्मान पाए । हारेकाहरुलाई कसैले वास्ता गरेनन् । आत्महत्या गर्ने अधिकांश युद्ध हारेका सिपाही थिए । दुर्खिमका अनुसार ती सिपाहीहरुको मनोविज्ञान बिगार्ने समाज थियो । समाजले हारेका सिपाहीहरुको अस्तित्व स्वीकार नगरेको कारण उनीहरुले आत्महत्या गरे भन्ने दुर्खिमको निश्कर्ष थियो ।
मनोविश्लेषक वासु आचार्य गत बिहीबार धादिङको आत्महत्या हुनुको प्रमुख कारण ‘संज्ञान’लाई मान्छन् । उनको अनुसार सोच्ने, विचार गर्ने र त्यसलाई मनन् गर्ने तरिकामा ‘नकरात्मकता हाबी’ हुदाँ यस्ता दुर्घटना हुने गर्छन् । सोच्ने तरिकाकै आधारमा मानिसले धारणा बनाउने हुनाले पनि यस्ता घटना हुने गर्छन् ।
मनोविश्लेषक आचार्यका अनुसार उस्तै दुःख भोगिरहेको मानिस अर्को मानिसले व्याख्या गरेको कुरामा सहमत हुन्छ । धादिङको घटनामा श्रीमान विनयले आत्महत्या गर्ने कुरा गर्नासाथ उनकी श्रीमतीले श्रीमानको मृत्युपछि भोग्नुपर्ने ‘नकारात्मक दृश्य’ कल्पना गरेको हुने सक्ने उनको आँकलन छ । अर्थात, ‘श्रीमान नै मरेपछि म बाँचेर के काम ? म पनि मरेपछि छोराछोरीको बिल्लीबाठ भै हाल्छ’ भन्ने किसिमको ‘उल्टो कल्पनाशीलता’ले सामूहिक आत्महत्या भएको मान्छन् उनी ।
‘यस्तो दृश्य, जहाँ श्रीमानको शेषपछि ऋण तिर्न नसकेको भन्दै समाजले कुरा काटिरहेका हुन्छन् । यस्तो दृश्य, जहाँ साहु महाजनहरु पैसा माग्न घरमै आएर नानाभाँती भन्दै बेइज्जत गरिरहेका हुन्छन् । यस्तो दृश्य, जहाँ आफ्ना छोराछोरी बाटोमा भिख माग्दै हिँडिरहेका हुन्छन्’ आचार्य भन्छन्, ‘मानिसले यसरी सोचेपछि बाँच्नुको विकल्प देख्दैन। आफ्नो शेषपछि बालबालिकाको पनि बिजोग हुन्छ भन्ने सोचेर सँगसँगै लिएर आत्महत्या गर्छ ।’
सामूहिक आत्महत्या गर्नुको कारण मानिसमा नकरात्मक पक्ष हाबी हुनु, आत्मविश्वासमा कमी आउनु र असन्तोषी प्रवृत्ति हाबी हुनु अध्यनहरुले देखाएको छ । ‘दुखैमा मात्रै बित्ने भो जीन्दगी’ भनेर सोच्नेहरुले आत्महत्या रोज्ने सम्भावना बढी रहेको मनोविश्लेषक आचार्य बताउँछन् । उनका अनुसार सामाजिक बेइज्जती हुने डरका कारणले पनि आत्महत्या गर्ने ट्रेन्ड बढेको छ ।
‘समाजमा बाँच्नुको कुनै अर्थ नदेखेपछि मान्छे कि समाजसँग भाग्छ, कि त आत्महत्या गर्छ’ मनोविश्लेषक आचार्य भन्छन्, ‘महत्वाकांक्षी मान्छेहरु ऋण लिँदा पनि क्षणिक सोचेर लिन्छन् । आत्महत्या गर्दा पनि भविश्य नसोचिकन निर्णय गर्छन् ।’
एउटै परिवारका सदस्यहरु, एकै परिवेश र एउटै समस्या भोगिरहेका व्याक्तिहरुमा एउटै किसिमको समान समस्या हुन सक्ने मनोविद गोपाल ढकाल बताउँछन् । उनका अनुसार परिवारको एक सदस्यलाई समस्या पर्दा अरु सदस्यहरुलाई पनि समान असर पर्छ । सँगै समस्या भोगिरहेको परिवारको व्यक्तिले आत्महत्याको कुरा निकाल्दा परिवारको अर्को व्यक्तिको पनि मनोवल बढ्ने उनी सुनाउँछन् ।
‘ऋणका कारण श्रीमान डिप्रेशनसँग गुज्रिरहेको हुन सक्छ । बच्चा जन्माइसकेपछि महिलालाई पनि ‘पोष्ट नेटल डिप्रेसन’ भएको हुनुपर्छ’ त्रिशुली नदीको सामूहिक आत्महत्याको उदारण दिँदै ढकाल भन्छन्, ‘६ महिनाको बच्चालाई त्यसै छाड्दा बच्चाले दुःख पाउँछ, बरु सँगै लिएर जाउँ भन्ने धारणाले यस्तो गराएको हुन सक्छ ।’
त्रिशुलीको घटनालाई ‘सामूहिक आत्महत्या’ भन्दा पनि ‘हत्याकाण्ड’ भनेर सम्बोधन गर्न मिल्ने समाजशास्त्री दिपेश घिमिरे बताउँछन्। समाजमा आफ्नो स्तरभन्दा बढी आँट्ने महत्वाकांक्षी मानिसहरु बढिरहेकाले पनि यस्ता घटना घटिरहने उनको कथन छ ।
घिमिरेका अनुसार पुँजीवादी समाजले मानिसलाई महत्वाकाक्षी हुन सिकाउँछ । आवश्कयताभन्दा बढी असीमत चाहनाकै कारण मानिसले छिमेकीको ठूलो घर देख्यो भने आफ्नो घरलाई साँघुरो ठान्छ । आफू गाडी चढ्दाचढ्दै अरुको देखेरै नयाँ गाडी किन्ने सोच्छ । बजार र विज्ञापनमा जे देख्यो, त्यो पाउने चाहनाको पछि दौडन्छ । यदि त्यो पुरा गर्न सकेन भने अनावश्यक चिन्ता लिएर मानसिक स्वास्थ्य बिगार्छ । समाजशास्त्री घिमिरे भन्छन्, ‘पुँजीवादले समाजमा आर्थिक र सामाजिक र सांस्कृतिकरुपमा अदृश्य मनोविज्ञान निर्माण गर्छ, जसको दलदलबाट मानिस सजिलै उम्कन सक्दैन ।’
मानिसले आत्महत्या रोज्नुको अर्को कारण बलेको आगो ताप्ने समाजको प्रवृत्ति ठान्छन् उनी । कोही मानिस जागिर या कमाइ गरिरहेको छ भने समाजले उसलाई सम्मान गर्छ । जति मागे पनि ऋण पत्याउँछ । कसैले लिनु छ भने पनि नतिर्ला कि भन्ने शंका गरेर तिर्न दबाव दिँदैन । तर, मानिसले गरिरहेको व्यापार असफल भयो या कमाइरहेको जागिर गयो भने समाजले उसलाई दिने सम्मान नै घट्न थाल्छ । कसैले लिनु छ भने तिर्न दबाव दिन्छ । उसलाई आवश्यकता पर्दा कसैले आर्थिक सहायता गर्दैन । सोही कारण मानिसले विकल्प नदेख्ने घिमिरे बताउँछन् ।
कानूनी प्रावधानले पनि समाजमा सामुहिक आत्महत्याको चलन बढेको उनी बताउँछन् । हजुरबाले खाएको ऋणको पासोमा नाति पर्ने भएकाले कतिपय मानिसले आफ्नो ऋणको बोझ आफ्नो सन्ततिलाई नपरोस् भनेर परिवार हत्याको योजना बनाउँछन् । समाजमा एउटा परिवारको एकजना व्यक्ति कसैको ऋण खाएर मर्यो भने त्यो ऋण अर्को पुस्ताले तिर्नु त पर्छ नै, सामाजिक प्रतिष्ठा र बदनामी उसको सात पुस्तासम्मको हुन्छ । यस्तै बदनामबाट जोगिन र जोगाउन पनि मानिसले सामूहिक आत्महत्याको निर्णय गर्ने घिमिरे बताउँछन् ।
घिमिरेका अनुसार नेपाली समाज र परिवारको संरचना व्यक्तिवादी नभएर सामूहिक हो । मानिसले अझै पनि सामूहिकरुपमै सोच्छ । सामूहिकरुपमै व्यवहार गर्छ । कुनै परिवारको एक व्यक्तिले केही उपलब्धी गर्दा परिवारको प्रतिष्ठाको विषय बन्छ । परिवारको हरेक मान्छेले आफ्ना लागि भन्दा ज्यादा परिवारका लागि नै मेहनत गरिरहेको हुन्छ । मेहनत गर्दागर्दै परिवारको कुनै एक व्यक्तिले बदमासी गर्दा समाजले परिवारकै नाम जोडेर बदनाम गर्छ । अर्थात समाजले व्यक्तिलाई मात्रै बदनाम नगरेर ‘फलानोको छोरो, फलानोकी श्रीमती या फलानोको बाउ…’ भन्दै उसको साइनो जोडिएका सबै नातागोतालाई बदनाम गर्छ । जसका कारण परिवारको मानसिक स्वास्थ्य र मनोविज्ञान एउटै किसिमले बिग्रन जान्छ । मानिस आफूले गल्ती गर्दा घर परिवारलाई केही होला कि भनेर सोच्छ नै, अर्काको गल्तीमा पनि आफू डराउँछ ।
‘व्यक्तिवादी सोच्ने समाज थियो भने धादिङको घटनामा श्रीमान मरेर के हुन्छ ? म दुई सन्तानको मुख हेरेर बाँच्छु, म गरेर देखाउँछु भन्दै श्रीमती श्रीमानसँगै हाम नफाल्न सक्थिन् । या श्रीमानलाई ढाडस दिएर बचाउन सक्थिन्’ समाजशास्त्री घिमिरे भन्छन्, ‘सामूहिकता सोच्ने समाजकै कारण त्यहाँ श्रीमानले आत्महत्या गर्छु भन्दा म पनि मर्छु भनेर श्रीमती तयार भइन्।’
समाजशास्त्री घिमिरेका अनुसार मानिसले आत्महत्या गर्दा व्यक्तिगतरुपमा भन्दा सामूहिकरुपमा नै सल्लाह गरेर निश्कर्षमा पुग्छ । एउटाको योजनामा अर्को सहमत भएकै आधारमा आत्महत्या नहुने उनी बताउँछन् । सामुहिक सोच र छलफलको निश्कर्षमा अन्तिम विकल्प आत्महत्या रहेको उनको कथन छ । ‘हाम्रो पुँजीवादी समाजको आर्थिक प्रणालीले चरम महत्वकांक्षा जन्माएको छ । यो महत्वाकांक्षा व्यवस्थापन गर्न नसक्नुको परिणाम हो यो’ घिमिरे भन्छन्, ‘हाम्रो समाजको संरचना नै यस्तै छ, जसका कारण मानिसले विकल्पै देख्दैन।’
श्रीमान–श्रीमतीले आत्महत्याको निर्णय लिँदा बच्चालाई सँगै मार्नुको कारण मायाले नभएर चिन्ताले भएको घिमिरे बताउँछन् । दुईमहिने र दुईवर्षे अवोध बालबालिका देख्दादेख्दै पनि मर्ने निर्णय त्याग्न नसक्नुको कारण अध्ययनको विषय हुने बताउँदै उनी भन्छन्, ‘सामूहिक आत्महत्या अझ विशेष गरी स–साना बच्चाहरु सँगै लिएर गरिएका आत्महत्या अध्ययनका विषय हुन् । तत्काल नै केही भनिहाल्ने अवस्था छैन।’
भारतको पछिल्लो गम्भीर समस्या ‘मास सुसाइड’ अध्यन गरिरहेको ‘इनटेच ओपन’ जर्नलले सानैदेखि दुःख, संघर्ष र अभाव नभोगेको मानिसले अपर्झट आइपर्ने असामान्य परिस्थिति सामना गर्न नसक्ने लेखेको छ । जिन्दगीको लामो कालखण्डमा कुनै संघर्ष र अभाव नभोगेको मानिसलाई एकाएक समस्या आइपर्दा असामान्य निर्णय लिने उल्लेख छ ।
भारतमा भएका सामूहिक आत्महत्याको उदारण दिँदै आक्रोश पनि सामूहिक आत्महत्याको कारण हुन सक्ने इनटेच ओपनले लेखेको छ । मानिसहरु सुरुमा परिवारमा समस्या आउनुमा एकअर्कालाई दोष लगाउँछन् । दोषले समस्याको समाधानतर्फ भन्दा पनि मानसिक तनाव उत्कर्षमा पुर्याउँछ । मानसिक तनावले मर्नु बाहेक अर्को विकल्प देख्दैन । एकजनाले मर्छु भनेपछि ‘तँ मरे म किन बाँच्नु’ भनेर अर्को पनि मर्न तयार हुन्छ । इनटेच ओपनले लेखेको छ, ’आफू मरेपछि बच्चालाई त्यसै छाड्दा पाप लाग्ला भन्ने मानसिकताले यो सबै दुर्घटना गराउँछ।’
इनटेच ओपनका अनुसार अहिलेका मानिसहरुलाई न आफ्नो भरोसा छ। न अरुको । आफूलाई आपत पर्दा कसैले सहयोग गर्ला भन्ने आश नै छैन । न अरुलाई आपत पर्दा सहयोग गर्न तयार हुन्छन् । मानिस आफ्नै संसारमा मस्त छ, त्यो संसार बाहेक अर्को संसारको मतलव हुन्न । जुन दिन उसको संसार उजाडिन थाल्छ, त्यसपछि निराश हुन थाल्छ । त्योबेला उस्ले न माया पाउँछ, न कसैको साथ । त्यही अवस्थामा पुगेपछि अधिकांश मानिसले आत्महत्याको बाटो रोज्छन् ।
डिप्रेसन र आत्महत्या
विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार विश्वभर हुने ७८ प्रतिशत आत्महत्या आर्थिक अभावका कारणले हुन्छ । ७५ प्रतिशत आत्महत्या गर्नेहरुको कारण डिप्रेसन हुन्छ । नेपालको कुल जनसंख्याको ३० प्रतिशतलाई कुनै न कुनै किसिमको डिप्रेसन छ । यो हिसाबले हेर्दा झण्डै एक करोड नेपालीमा सामान्यदेखि जटिलसम्मको डिप्रेसन छ ।
अध्ययनहरूले देखाए अनुसार विश्वव्यापी रूपमा कुनै पनि समय १० प्रतिशत जनसंख्या मानसिक समस्याबाट पिल्सिएको हुन सक्छ भने झन्डै २० प्रतिशत बालबालिका तथा किशोर किशोरीमा कुनै न कुनै मानसिक समस्या हुनसक्छ। त्यस्तै विश्वव्यापी रुपमा सामान्यतया हरेक दशमध्ये एकजना मानिस आफ्नो जीवनकालमा डिप्रेसनको शिकार हुने सम्भावना हुन्छ । हरेक चारमध्ये एक जना महिला आफ्नो जीवनकालमा डिप्रेसनबाट पीडित हुनसक्छन्।
डिप्रेसनको रोग लागेपश्चात् मानिसको मन निरन्तर कम्तिमा दुई हप्ता भन्दा लामो समय उदास रहिरहन्छ । जसको कारण मानिसको दैनिकी बिग्रन्छ । विश्वमा १० अर्ब मानिस यसैको शिकार छन् ।
प्रहरी अध्ययनले निष्कर्ष निकालेका आत्महत्याको घटनाहरुको प्रमुख कारण आर्थिक असन्तुलनसँग जोडिएको हुन्छ । धादिङको केसले यो तर्कलाई पुष्टि गरेको छ । त्यसैले समाजशास्त्र र मनोविज्ञानले ‘असफलता भोगिरहेको र निराश देखिएका मान्छेलाई साथ छाड्ने होइन्, हौसला दिइरहौँ’ भनेर जोड दिएको छ । स्रोत : अनलाईनखबर