प्रदेश ३ को नामाकरण प्रति फोरम मकवानपुरको आपत्ति
संघीय समाजवादी फोरम, मकवानपुरले प्रदेश ३ को नाम बाग्मती राखे निर्णय प्रति आपत्ति जनाएको छ ।
मंगलबार फोरम मकवानपुरले हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रदेशको नामाकरण प्रति आपत्ति जनाएको हो । गत आईतबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेशको राजधानी हेटौंडा र नाम बागमती राख्ने निर्णय गरेको थियो ।
फोरमले पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ती जारी गर्दै प्रदेशको नामाकरण तर्फ पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फोरमले प्रदेशको नाम बागमती राखे द्वन्द निम्तिने चेतावनी समेत दिएको छ ।
फोरमले जारी गरेको प्रेस विज्ञप्तीमा लेखिएको छ प्रदेशको यो (बागमती) नामाकरणले ३२ हजार वर्ष पुरानो ताम्सालिङ सभ्यता र नेवार समुदायको पहिचान विपरित हुने जनाएको छ । फोरमले प्रदेशको नाम नेवाः ताम्सालिङ अबिलम्ब घोषणा गर्न माग गरेको छ ।
फोरम मकवानपुरका अध्यक्ष शुभरत्न गोले तामाङले बाग्मती नाम राखे प्रदेश ३ को नेवार र तामाङहरुको अस्तित्व माथि नै धावा बोल्ने कुञ्चित मानसिकताबाट गरिएको निर्णय अबिलम्ब सच्याइनुपर्ने माग राखेका छन् । यदि मागलाई बेवास्ता गरी राज्य अघि बढेमा त्यसबाट हुनसक्ने घटनाको जिम्मेवार सरकार स्वयम्ले लिनुपर्ने बताएका छन् ।