पेस्तोल र विष्फोटक पदार्थ सहित तिनजना पक्राउ
१ थान कटुवा पेस्तोल र विष्फोटक पदार्थ सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङका ३१ वर्षीय चन्द्र बहादुर बस्नेत रहेका छन् ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले घर खानतलासी गर्ने क्रममा १ थान कटुवा पेस्तोल, इलेक्ट्रिक डेटोनेटर ७ थान, नन इलेक्ट्रिक डेटोनेटर १७ थान, टाइम सेटिङ डिभाइस, रिमोट कन्ट्रोल सेट ३ थान, ब्याट्री सेट २ थान, जिलेटिन ५४ थान, सेफ्टी फ्युज वायर साढे ३ फिट तथा अन्य विभिन्न प्रकारका दस्तावेजहरु समेत बरामद गरेको छ।
हतियार तथा विष्फोटक पदार्थ सहित पक्राउ परेका बस्नेतको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराह क्षेत्र एरियाबाट हतियार सहित १ महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा अजिरकोट काफल डाँडा बस्ने ४१ वर्षीया उमा भुजेल रहेकी छिन्।
उनलाई १ थान रिभल्बर र ५ राउण्ड गोली सहित पक्राउ गरिएको हो। स्कुटीमा सवार गरी आइरहेका दुई जनालाई चेकजाँच गर्दा मोटरसाइकल पछाडि सवार रहेकी उमाको साथबाट ‘मेड इन यूएसए’ लेखेको रिभल्वर १ थान, गोली ५ थान र मोबाइल ५ थान फेला पारी बरामद गरिएको हो । स्कुटी चालक जिल्ला झापा दमक बेलडाँगी बस्ने ३० वर्षीय सुमन सिंह पौडेल समेतलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।