उपनिर्वाचन नतिजा : नेकपाको अग्रता, नेपाली कांग्रेसले १२ वटा वडा जित्यो

बिभिन्न जिल्लाका स्थानीय तह अन्तर्गत ४३ वटा वडामा भएको उपनिर्वाचनमा अधिकांशको मतगणना सकिएको छ ।
४३ वटा वडा मध्ये २२ वडाध्यक्ष जितेर सत्तारुढ दल नेकपाले अग्रता कायम राखेको भने नेपाली कांग्रेस १२ वडाध्यक्ष जितेको छ, समाजवादी पार्टीले ३ र राष्ट्रिय जनता पार्टी (राजपा) ले ३ वडाध्यक्ष जितेको छ । अन्य कुनै पनि दलले वडाध्यक्ष जित्न सकेका छैनन् ।
उपचुनाव भएका ४३ वडामध्ये यसअघि तत्कालीन एमाले र माओवादीले जितेका २१ र २ समेत गरी २३ वडामध्ये नेकपाले ८ वडा गुमाएको छ ।
तर उसले यसअघि कांग्रेसले जितेका समेत गरी ८ वटै वडा जितेर आफ्नो संख्या कायम राख्न सफल भएको छ । यसअघि राजपाले जितेका ३ मध्ये २ वडा गुमाएको छ भने समाजवादीले ३ वटा वडा जितेर एक सिट थपेको छ ।
उपनिर्वाचन भएकामध्ये प्युठानको ऐरावती गाउँपालिका १ र २ को मतपरिणाम प्राप्त हुन बाँकी छ ।